स्ववियुद्वारा सरसफाइ अभियान सञ्चालन गरेर “फोहोर नगरौ” भन्ने सन्देश
By Bishal Rokaha / June 29, 2025
मिनभवन, काठमाडौं ।।
“Clean Campus Today, Clear Thinking Tomorrow” भन्ने मूल नाराका साथ नेपाल कमर्स क्याम्पस, मिनभवन, काठमाडौं मा स्ववियुको आयोजनामा साप्ताहिक सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। विभिन्न सर्कलहरूको सहयोग र क्याम्पस प्रशासनको समन्वयमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि सामाजिक अभियन्ता के.पी. खनाल हुनुहुन्थ्यो भने संयोजकता नेपाल कमर्स क्याम्पस स्ववियु सभापति विशाल रोकाहाले गर्नुभएको थियो।
सिभिल अस्पतालदेखि क्याम्पस परिसरसम्म सञ्चालित अभियानमा विद्यार्थी, कर्मचारी, सामाजिक अभियन्ता तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।
स्ववियु सभापति विशाल रोकाहाले वातावरणीय चेतना अभिवृद्धि गर्दै हरियाली पुनर्स्थापना तथा प्रवर्धनमार्फत शिक्षाको लागि स्वस्थ वातावरण निर्माणमा कार्यक्रमले टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो,
“यो केवल सरसफाइ अभियान मात्र होइन, यो एउटा परिवर्तनको अभियान हो, जहाँ वेतिथि र विसङ्गतिको अन्त्य हुनेछ। हामी फोहोर राजनीतिलाई समेत डस्टबिनमा फाल्न चाहन्छौं। यो अभियान मार्फत हजारौं विद्यार्थीको आवाजबाट नविनतम शैक्षिक आन्दोलनको सुरुवात गर्ने हाम्रो लक्ष्यको स्वरुप हो सरसफाइ अभियान”
कार्यक्रमका प्रमुख अतिथि के.पी. खनालले सरसफाइ तथा वृक्षारोपणलाई नागरिक कर्तव्यको रूपमा लिनुपर्नेमा जोड दिनुभयो। उहाँले स्ववियु टिमप्रति धन्यवाद व्यक्त गर्दै यस्ता अभियानलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो।
“क्याम्पस सफा राख्नु हाम्रो कर्तव्य हो। स्वच्छ वातावरणले सोचाईलाई पनि सकारात्मक बनाउँछ,” उहाँको भनाइ थियो।
स्ववियु नेपाल कमर्स क्याम्पसले प्रत्येक शुक्रबार “Clean Campus Today, Clear Thinking Tomorrow” भन्ने नारासहित क्याम्पस परिसरभित्र सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ। अभियानको उद्देश्य वातावरण सफासँगै सामाजिक, राजनीतिक विकृति र विसङ्गतिको विरुद्ध आवाज उठाउनु रहेको स्ववियु टिमले जनाएको छ।
स्ववियु सभापति विशाल रोकाहाले भन्नुभयो,
“हामीले पूर्ण रूपमा सफा गर्न सक्यौं कि सकिएनौं भन्नु भन्दा पनि, ‘फोहोर गर्नु हुन्न’ भन्ने चेतना फैलाउनु हाम्रो मुख्य उद्देश्य हो। प्रत्येक व्यक्तिले आफूले प्रयोग गर्ने ठाउँ आफैं सफा राख्नुपर्छ भन्ने भावना विकास गर्न सकियो भने त्यो नै दीर्घकालीन समाधान हो।”